• दाङ : सिमसार क्षेत्रको संरक्षणले दाङमा पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो ।

    गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयवासीको पहलमा जलाशय बनेको थियो । अहिले त्यही जलाशय मानिसको मात्र नभई स्वदेशी तथा विदेशी चराको आकर्षणको केन्द्र बनेको जलाशय उपभोक्ता समितिका अध्यक्ष छित्रु चौधरीले बताए ।

    यहाँ आगुन्तुक चरा आउने गरे पनि यसको संरक्षणका लागि सरकारीस्तरबाट पनि काम गर्न आवश्यक रहेको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलाशय त बन्यो विदेशी चरा आएका छन्, यसको संरक्षण कसरी, कहाँ गएर गर्ने भन्ने अझै अन्योल छ ।’ जलाशयबाट सिँचाइ गर्ने काम भए पनि चरा संरक्षणका लागि धेरै काम गर्न बाँकी रहेको उनी बताउँछन् ।

    दाङका जलाशय, नदी तलाउमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउँछन् । दाङमा पाइने चरा र आगन्तुक चराका बारेमा अध्ययन गर्दै आएका लालमणि रेग्मीले कृत्रिम जलाशय, सीमसारसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभलाग्दो रहेको बताए।

    नेपालमा चीन, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट चिसो छल्न चरा नेपाल आउने गरेका छन् । तीमध्ये धेरैजसो चरा दाङका जलाशयमा भेटिन्छन् । चरा असोज तथा कात्तिकमा आइपुग्ने र बढीमा ६ महिनासम्म बस्ने गरेको चरा विज्ञ चिरञ्जीवी खनालले बताए । दाङमा २८ प्रजातिका जलपक्षी पाइने गरेको जलपक्षी तथा वन्यजन्तु संरक्षणकर्मी खनालले बताए ।

    घोराहीका मेयर नरुलाल चौधरी कुनै समय सुकेका ठाउँमा पनि अहिले जलमग्न भएको बताउँछन् । कृत्रिम जलाशयले गर्दा चराको वासस्थान भएको उनको भनाइ छ । त्यसका कारण बाहिरी देशबाटसमेत त्यहाँ चरा आउने गरेका छन् ।

    कृत्रिम ताललाई भोलिका दिनमा अझै प्रवर्द्धन गर्दै जलपक्षीको पनि संरक्षणमा लाग्ने उनी बताउँछन् । जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारीखेती, फलफूलखेती समेत गरिरहेका मेयर चौधरीको भनाइ छ । खासगरी सुक्खा हुँदै गएको घोराहीलाई जोगाउनसँगै सिँचाइ सुविधा पुगेको उनी बताउँछन् ।

    घोराहीका विभिन्न वडामा अहिले ४० बढी जलाशय निर्माण गरिएको छ । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्‍याउने समेत अपेक्षा गरिएको छ । नेपाल पक्षीविद् सङ्घका अनुसार गएको वर्ष गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ साना क्षेत्रमा ७९ प्रजातिका ६३ हजार ९ सय जलपक्षी छन् । जानकारका अनुसार संसारमा चराका १० हजार प्रजाति छन् भने त्यसको झन्डै नौ प्रतिशत नेपालमा पाइन्छन् ।

    ती चराको संरक्षण गरेर बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भए पनि नेपालमा जलपक्षीको गणनाबाहेक अरू काम हुन नसकेको विज्ञहरू बताउँछन् ।