• काठमाडौं ।

    नेपाली काँग्रेसको संसदीय दलको बैठकमा नेपाललाई हिन्दुराष्ट्र बनाउने बिषय प्रवेश गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बैठकमा हिन्दुराष्ट्रको माग उठाएका छन् । भण्डारी बिभिन्न फोरममा हिन्दुराज्यको वकालत गर्दै आएका छन् । सरकारले भर्खरै ल्याएको अध्यादेशमा रहेका विषयवस्तु बारे जानकारी गराउने उद्देश्यले बोलाइएको बैठकमा सांसदहरुले आज धारणा राख्ने कार्यतालिका थिएन ।

    यद्यपि, सांसद भण्डारीले आफूले बोल्न समय माग गरेपछि सभापति शेरबहादुर देउवाले धारणा राख्न समय दिएका थिए ।

    भण्डारीले बैठकमा भनेका थिए,– ‘तपाईंहरूले संविधानको छलफल थाल्नुभएको छ । हिन्दुराष्ट्रको मुद्दालाई संविधान संशोधनका बेला बेवास्ता गर्नुभयो भने पार्टी ठीक ठाउँमा रहँदैन ।’

    बैठकमा महामन्त्री गगन थापाले अध्यादेशका लागि प्रतिस्थापन विधेयक सच्याएर ल्याउने काम सरकारको भएको बताएका थिए ।

    गृहमन्त्री रमेश लेखकले अध्यादेशमा त्रुटी रहेको भए प्रतिस्थापन विधेयकमा सच्चिएर आउने जानकारी गराएका थिए ।