• चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

    चितवनको नारायणी नदी किनारमा आज आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहमा सभापति देउवाले देशको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

    नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, पालिकाका साथै सरोकारवाला निकायको एकआपसमा सहकार्य आवश्यक रहेको देउवाले बताए । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उनको भनाइ छ ।

    भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने सभापति देउवाको विश्वास छ । भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै उनले महानगरपालिकामा पर्यटकीय विकासका लागि प्रयाप्त पूर्वाधार रहेको जिकिर गरे ।