• काठमाडौँ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे प्रतिनिधिसभामा सांसदहरूसँगको सवालजबाफमा भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइएको छ। अब म बुझ्छु ’ ।

    यसअघि प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका थिए। छानबिन समितिले बालकुमारी घटनाको प्रमुख दोषी भौतिक पूर्वाधारमन्त्री रहेको प्रतिवेदनमा जनाएको छ। यसपछि प्रतिपक्षीले मन्त्रीको राजीनामा मागेका हुन्।

    गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो। उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषद्ले गत पुस १६ मा जाँचबुझ आयोग गठन गरेको थियो।

    उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले गत पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।