• संविधानले फागुन १ को जनयुद्ध दिवस चिन्दैन । सर्वोच्च अदालतले झन् फागुन १ को जनयुद्ध दिवस चिनेन र भन्यो ‘यो दिन सार्वजनिक बिदा नदेउ ।’ तर पनि जनयुद्ध दिवस भन्दै देशका बिभिन्न पालिकाले बिदाको घोषणा गरेका छन् । गृहमन्त्रालयलेसमेत आधिकारिक पत्र नै लेखेर सार्वजनिक बिदा नहुने बताएको छ ।

    संघीय प्रणालीमै रहेका गृहका कर्मचारीले बिदा नहुने भनेर हस्ताक्षर गरेका छन् । त्यही प्रणाली अन्तर्गत प्रशासकीय अधिकृत रहेका कर्मचारी भने बिदा भनेर हस्ताक्षर गरेर हिँडेका छन् । यस्ता अटेरी पालिका प्रमुख तथा कार्यकारी अधिकृतमाथि छानबिन सहित कारबाहीको प्रकृया हुने वा नहुने ? सर्वोच्चको फैसाल बिपरित जाने यस्ता जनप्रतिनिधि वा कर्मचारीलाई कार्वाही हुन्छ कि हुँदैन ? भन्ने चासो व्यापक भएको छ । सथनीय निकायलाई स्थानीन रीतिरिवाज तथा चाडपर्वमा बिदा दिन पाउने अधिकार रहन्छ ।

    तर, कुनै दलबिशेषले घोषणा गरेको राजनीतिक बिषयमा बिदा दिँदा कानुनी कार्वाही हुने कानुनका जानकारहरु बताउँछन् । काननुका जानकार धर्म रेग्मी सर्वोच्चले रोक लगाएको बिषयमा मानहानीको मुद्धा लाग्ने बताउँछन् । सर्वोच्च अदालत कानुनी व्याख्या गर्ने माथिल्लो निकाय हो । त्यसले नगर्नु भनेको काम गर्दा पक्कै पनि मानहानी हुने उनले बताए । यस बिषयमा अदालतमा मुद्धा दर्ता गर्दा लाग्ने अर्का कानुन व्यवसायी बासु ज्ञवाली बताउँछन् ।

    सर्वोच्चको फैसलामा भनिएको छ, ‘शान्ति प्रक्रियाका सबै कार्यहरु सम्पन्न हुन बाँकी रहेको अवस्थामा सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था अर्थात् संसदद्वारा सुविचारित तवरबाट छलफल र निर्णय नगरी निवेदकहरुसमेतको भावनामा चोट पर्ने र संक्रमणकालीन न्यायको कार्यमा संलग्न संस्थाका भावी कार्यहरुमा समेत प्रभाव पर्नेगरी कार्य गर्नु वाञ्छनीय देखिँदैन ।’


    सर्वाेच्च अदालतको फैसलाविपरीत माओवादी केन्द्रले जितेका स्थानीय तहमा सार्वजनिक बिदा दिने आफूखुशी निर्णय भइरहेका छन् । पालिका प्रमुख र उपप्रमुखसहित माओवादीले जितेका ठाउँमा दिइएको सार्वजनिक बिदा त्यही पालिकाका अन्य पार्टीले जितेका वडाध्यक्षले अस्वीकार गरेर विज्ञप्ति जारी गरिरहेका छन् ।

    पालिकाको बिदा वडाले अस्वीकार गर्दा विशेषगरी ती ठाउँका विद्यालय बन्द गर्ने वा नगर्ने चेपुवामा परेका छन् । त्यस्तै माओवादीबाट जितेका पालिका प्रमुखले जनयुद्ध दिवसको सार्वजनिक बिदा घोषणा गर्ने र गठबन्धनकै अर्को दल कांग्रेसबाट निर्वाचित उपप्रमुखले त्यसलाई खारेज गरेर विज्ञप्ति निकाल्नेसम्मका तमासा पनि स्थानीय तहमा देखिएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने स्थानीय तहलाई विदा नदेउ भन्न नमिल्ने भन्दै पन्छिरहेको छ । यस्तै दिक्दारी प्रति लक्षित गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्–‘आज आआफ्ना अनुकुलको युद्द सगर्सलाई प्रोत्साहन गरिए भोलि अफताबले इट्टाभट्टा दिवस,उपेन्द्रले गौर नरसंहार दिवस र रेशमले टिकापुर नरसंहार दिवस घोषणा गर्नेछन् । अनि भाँडभैलो हुन्न र ?’