• काठमाडौं : रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेको लिखु २ जलविद्युत् आयोजनाले बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगाएको छ भने मलामीको भागदौड चलेको छ। हिजो बेलुका ६ बजेतिर उमाकुण्ड गाउँपालिका, गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले एक्कासी बाँध खोलेर नदीमा पानी पठाउँदा जलिरहेको शव बगाएको हो ।

    ‘लास भर्खरै जल्न लागेको थियो, एक्कासी नदीमा बाढी आयो, केही मानिसहरुलाई पानीले भेटिसकेको थियो, जसोतसो मलामी त भागे तर लास बगायो’ मृतकका आफन्त समेत रहेका सोलुुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ध्रुव बस्नेतले बताए।

    बाँध खोल्दा आयोजनाले स्थानीयलाई जानकारी दिनुपर्नेमा उल्टै लास जलाइरहेको बेला पनि बाँध खोलिदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामीले बाँध खोल्ने आयोजनाका कर्मचारी सञ्जीव खनाललाई समातेर प्रहरीलाई जिम्मा लगाएको छ ।