• १०२ मेघावाट क्षमताको मध्यभोटेकोशी आयोजनाको सुरुङमा पानी छाड्न लागिएको छ ।

    सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधिन यो आयोजनाको काम सम्पन्न हुन लागेको छ ।

    सन् २०१३ मा सुरु भई २०१७ मा पूरा हुने भनिएको यस आयोजनाको काम २०२४ मा सम्पन्न हुने पक्का भएको हो । सुरुङमा पानी पठाउँदा केही समस्या नदेखिए उत्पादनको काम सुरु हुने जनाईएको छ । मध्यभोटेकोशी आयोजना अन्तर्गत साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोशी र चाकु नदीको पानी ७.२ किलोमिटरको सुरुङबाट गातीको जम्बुमा खसालेर विद्युत उत्पादन गर्न लागिएको हो ।

    साढे १४ अर्बको लागत रहेको यस आयोजनामा पूँजी लगानीका लागि कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको छ । तर, पटक पटक समय थप हुँदा आयोजनाको लगानी धेरै बढेको छ ।

    सुरुङमा पानी पठाउने काम पुष २७ गते गरिने आयोजनाले जनाएको छ । यो अवधिमा भोटेकोशीको तटीय क्षेत्र तथा आसपासमा नजानका लागि आयोजनाले अनुरोध गरेको छ । सूचनामा जनाई अनुसार भोटेकोशी गाउँपालिकोको चाकुदेखि बाह्रबिसेसम्म सावधानी अपनाउनु पर्ने छ ।