• काठमाडौं ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले निकै तामझामसहित सुरु गरेको हेलो सरकारमा कर्मचारी नै टिक्न छोडेका छन् ।
    सरकारी कर्मचारीले गुनासो सम्बोधनलाई प्राथमिकतामै नराखेको हेलो सरकारको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

    गुनासो सुन्ने अधिकारी नै तोकिए पनि तिनले वास्ता गर्दैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीका अनुसार हेलो सरकारमै पनि कर्मचारी टिक्दैनन् । अन्तबाट सरुवा गराएर प्रधानमन्त्री कार्यालयमा आउने र आकर्षक कार्यालयमा सरुवाका लागि वातावरण मिलाएर हिँड्ने प्रवृत्ति छ ।

    सरकारले आम नागरिकको गुनासो सुन्ने र तत्काल कारबाही पनि गर्ने बताइरहँदा त्यस्ता गुनासा फर्छौट पनि कम छ । बेवास्ता हुन थालेपछि गुनासो गर्नेहरु पनि कम हुनु स्वाभाविक हो ।
    सरकारी निकायमा भएका ढिलासुस्ती र घुसखोरी जस्ता बेथितिको गुनासो गर्ने अवस्था बढेको छ ।
    सरकारले नागरिकका गुनासो सुन्न अहिले चौबिसै घण्टा हेलो सरकार कक्षमा कर्मचारी खटाएको छ । नागरिकका गुनासो सुन्ने र समाधान गर्ने विषयलाई सरकारले प्राथमिकतामा पनि राखेको छ ।

    आर्थिक वर्ष २०७९–८० मा हेलो सरकारमा १२ हजारको हाराहारीमा उजुरी परेको थियो । ती मध्ये पाँच हजार आठ सयवटा गुनासोको सुनुवाई भएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८–७९ मा ५६ प्रतिशत र २०७७–७८ मा ६७ प्रतिशत उजुरीको सुनुवाई भएको प्रतविेदनले देखाउँछ ।

    हेलो सरकारमा प्रहरी प्रधान कार्यालयसँग सम्बन्धित सबैभन्दा बढी गुनासो आउने गरेका छन् । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, सडक विभागसँग सम्बन्धित गुनासो धेरै छन् । यातायात व्यवस्था विभाग, नेपाल टेलिकम, राहदानी विभाग र अस्पतालसँग सम्बन्धित गुनासोको पनि ओइरो लागेको छ । मन्त्रालयअनुसार सबैभन्दा बढी गृह मन्त्रालयसँग सम्बन्धित उजुरी आउने गरेका छन् । तर यी निकायले त्यस्ता उजुरीको वास्ता नै नगर्ने प्रवृत्ति छ ।

    राति पनि काम गर्नुपर्ने र अतिरिक्त भत्ता नपाएको गुनासो कर्मचारीको छ ।