• नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कागजात मिलाएबापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेको र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुका हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

    बुधबार पत्रकार सम्मेलनमार्फत गत असोज १९ गतेदेखि हालसम्म यो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । जानकारी दिए । नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी एकजना, पूर्वप्रहरी एकजना, एयरलाइन्सका दुईजना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्ति ११ जना रहेका छन् ।

    नौ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखतसम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको छ । आठजना धरौटीमा छुटिसकेका छन् ।

    प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीकाअनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल छन् ।

    त्यस्तै एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उनले जानकारी दिए । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेका पनि उनले जनाए ।