• रामेछाप : दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । अध्यक्ष मोक्तानले सिक्ने क्रममा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरको गाडी (जीप) दुर्घटनामा परेको हो ।

    अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीको चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लैगेका थिए । उनले त्यो गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परे पनि अध्यक्ष मोक्तान सकुशल छन् ।

    अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेको चिस्यान केन्द्रको भवन नजिकै ठोकिएको थियो । गाडी ठोकिँदा अगाडिको भागमा क्षति पुगेको छ । अहिले त्यो गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटनामा परेपछि अध्यक्ष मोक्तान अर्कै गाडी लिएर काठमाडौं गएका गाउँपालिकाका एक कर्मचारीले बताए ।