• काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ । नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

    ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

    एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी रहेको छ । अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।