• कास्की : नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । हिजो भएको मतदानमा शर्माका प्रतिस्पर्धी मायानाथ अधिकारी एक सय ६६ मतले पराजित भए। शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरिन् ।

    शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।उपाध्यक्षमा मिनप्रसाद गुरुङ ५ सय ३४ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी बाबुराम विक एक सय ७२ मतले पराजित भएका छन् । बाबुराम विकले ३ सय ६२ मत प्राप्त गरे।सचिवमा शर्मा प्यानलकै धनञ्जय दवाडी निर्वाचित भएका छन् । उनले ५ सय २० मत र प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत प्राप्त गरे ।उपसचिवमा दामबहादुर विक ४ सय ९९ मतकासाथ विजयी भए। विकका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत ल्याए। त्यस्तै, उपसचिव महिलामा मञ्जु अधिकारी ५ सय ३१ मतकासाथ निर्वाचित भएका छन् । मिना गुरुङले ३ सय ६५ मत प्राप्त ल्याइन्।एक सय ६२ पदमध्ये केहीमा निर्विरोध भए पनि धेरैजसो पदका लागि मतदान भएको थियो । गण्डकीमा ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा ८ सय ९६ जनाले मतदान गरेका थिए ।