• तनहुँ : तनहुँमा पनि झाँगाझोली छ, भन्ने कुरा धेरै लाई थाहा भईसकेको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट २ दशमलव ५ किलोमिटर दुरीमा रहेको झाँगाझोली पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । झाँगाझोलीबाट प्रसिद्ध तिनखोले देवी मन्दिर ५ किलोमिटर अगाडि रहेको छ । प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासको लागि तीन वटै सरकारले ध्यान दिन नसकेको स्थानीयको गुनासो पनि रहदै आएको छ ।

    झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानवनिर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भईरहेको छ । अन्य साहसिक खेलहरुको लागि समेत यो क्षेत्र उपयुक्त मानिएको छ ।  खोलाको वरपर रहेको घना जंगलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोलीको पर्यटकीय सम्भावना अझ बलियो बनाएको छ । यहाँ रहेको घना जंगलको उपयोग गर्न सके आध्यात्मिक गतिविधिको लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिन्छ ।  

    सिन्धुली जिल्लाको झाँगाझोली हाल सुनकोशी गाँउपालिकामा पर्दछ । विपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, साँस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदा समेटेर तनहुँ झाँगाझोलीमा ‘झाँगाझोली एग्रो टुरिजम प्रालि’ ले बृहत गुरु योजना तयार पारी ‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ । 

    तनहुँ झाँगाझोलीको बृहत् गुरु योजना विशेषतः सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटा स्थित गणेशथान मन्दिर, मुलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नाङ्गेडाँडा स्थित सिद्धाथान मन्दिर ,सहस्रधारादेवी, ऐतिहासिक लप्से खोला कुवाको निमार्ण गरिने छ । सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालिमाटी, लक्ष्मीडाँडा, जस्ता गाँउहरुको नामबाट घरहरु निमार्ण गरिनेछन् । सातवटै प्रदेशका विशिष्टिकृत, उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक कोसेली घर समेत निमार्ण गरिने बताइएको छ । 

    तनहुँ झाँगाझोलीको विशेष आकर्षण ‘गौरादेवी नेचुरल हर्वल पार्क’ हो । विशेष तरिकाले निर्मित हर्वल पार्कमा विभिन्न जातका जडीबुटी रहेका छन् । जडीबुटी लगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ विभिन्न जातका पंक्षी, जनावरका मुर्ती राखिएका छन् । रुद्र कुण्ड, रुद्र घण्ट मठमन्दिर समेत रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ ले पर्यटकलाई भरपुर मनोरन्जन दिईरहेको छ । विशेषतः सार्वजनिक विदाका दिन औषत पाँच सय भन्दा बढी आन्तरिक पर्यटकहरुको आवतजावत हुने गरेको छ । 


    झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पुर्ण निमार्णका काममा केहि समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापन भएको छ । झाँगाझोली एग्रो टुरिजम प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोली बीचको सम्बन्धलाई सुमधुर गराउने त छदैछ मुलुककै कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान समेत दिन सक्ने आकँलन गरिएको छ । 

    झाँगाझोलीको पर्यटन प्रवद्र्धन तथा समृद्धीको लागि  संघीय सरकारले चालु आर्थिक वर्षमा झाँगाझोली देखि दरगाँउ सडक स्तरोन्नतीको लागी बजेटको व्यवस्था गरेपनि खैरहनीटार देखि झाँगाझोली चोकसम्मको सडक ग्रावेल मात्र भएकोले झाँगाझोली अवलोकन गर्न आउने पर्यटकलाई कठिनाई भएको छ । पृथ्वीराजमार्ग खैरहनीटारदेखि झाँगाझोली सम्मको सडक कालोपत्र गर्न संघीय तथा प्रदेश सरकारको ध्यान जान जरुरी देखिन्छ । 

    संघीय सरकार, प्रदेश सरकार पर्यटन बोर्ड जस्ता मन्त्रालय तथा निकायहरुले प्राकृतिक सुन्दरताले भरिपुर्ण तनहुँ झाँगाझोलीको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने देखिन्छ ।