• काठमाडौंमा समातिएको सुन ल्याउन तस्करहरूले दुबईको रुट परिवर्तन गरेर हङकङ रोजेका छन् । अनि तेस्रो मुलुकका नागरिकसमेत प्रयोग गरेका छन् । तर यसको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको अनुसन्धान अहिलेसम्म काठमाडौं वरिपरिबाट बाहिर जान सकेको छैन । हङकङबाट ब्रेक सुमा राखिएको सुन कसले पठाएको थियो ? यसको सामान्य उत्तर पनि उसँग छैन । यो सुन हङकङको अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी पास भयो ? भन्ने बषिय अझै गहन हो । यी विषयको खोजी नभएसम्म अनुसन्धान नै अपुरो हुने दाबी विज्ञको छ ।

    २०७३ सालमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको ३३ किलो सुन प्रकरणको अनुसन्धानका लागि टोली दुबई नै पुगेको थियो । जसले दुबईमा सुन खरिद गरेको पसलदेखि पठाउने र नेपालमा खरिद गर्नेसम्मको सबै नेटवर्क पत्ता लगाएर कारबाहीको दायरामा ल्याएको थियो । तर सरकार १ सय किलो सुन ल्याउने माथि अनुसन्धानको जिम्मेवारी किन प्रहरीलाई दिन चाहेको छैन रु भन्ने प्रश्न सबैभन्दा पेचिलो बनेको छ ।

    विमानस्थलको आगमन कक्षमा गृह मातहतका सुरक्षा निकायले जाँच गर्ने अधिकार नभएको भन्दै पन्छिन खोजेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले सुन प्रकरणमा सङ्गठित अपराधअन्तर्गत राखेर प्रहरीलाई अनुसन्धानको जिम्मेवारी दिनुपर्ने बताइरहेका छन् । तर सोमबार मात्र पक्राउ परेका दावा छिरिङको माओवादीकै केही नेताहरुसँग सम्बन्ध देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं यसलाई अन्तरदेशीय आपराधिक सञ्जालमाथि अनुसन्धान गर्नेभन्दा राजस्व विभागको छानबिनलाई नै अन्तिम मान्ने तयारीमा देखिएका छन् ।

    क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानलाई सुरुवात विन्दुदेखि गन्तव्यसम्मै पुर्‍याउनुपर्ने हुन्छ । अन्तरदेशीय र सङ्गठित अपराधलाई राष्ट्रिय सुरक्षासँग जोडेर अनुसन्धान नगर्ने हो भने माफियाको सञ्जाल भत्काउन अप्ठेरो नपर्ला भन्न सकिँदैन । त्यसोत एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १८ जना राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । तर, विभागले त्यति ठूलो परिमाणमा सुनसहित ओसारपसारमा संलग्न व्यक्ति नै पक्राउ गरेको झन्डै दुई साता वित्न लाग्दा पनि सुनका वास्तविक मालिक को हुन् पत्ता लगाउन सकेको छैन । यसले पनि थप शंका उत्पन्न गरेको छ । त्यसोत यो बिषयमा प्रहरीलाई अनुसन्धान गर्न नदिनु अर्को शंकाको बिषय हो ।

    अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर ल्याइएको र त्रिदेशीय सञ्जालमा जोडिएको यति ठूलो परिमाणको सुन तस्करी प्रकरण के राजस्व छलीको मात्रै विषय हो भन्ने प्रश्न उठेको छ । यसको जरैसम्म राजस्व अनुसन्धान विभाग मात्रै पुग्न सक्छ भन्ने गम्भीर प्रश्न कायमै छ । सरकारले राष्ट्रिय सुरक्षामै प्रश्न उठ्ने गरी भएको यो संगठित अपराधको अनुसन्धान गर्न अहिलेसम्म प्रहरीलाई किन दिएको छैन ? यसले सरकारमाथि नै आशंका जन्माएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १ सय ५४ किलो स्कुटरको ब्रेक सु ल्याउन कानुनी रूपमा जम्मा ४ सय ८० डलर मात्रै खर्च भएको छ । ब्रेक सुभित्र करिब एक क्विन्टल सुन तस्करी गरी ल्याइएको आरोपमा पक्राउ परेका १८ जना नै नेपालमा बसेर सहयोग गर्नेहरू मात्र हुन् ।