• भारतीयहरुले बुद्ध भारतमा जन्मिएको भनेर अर्नगल प्रचार गरिरहेको बेला भारतीय उच्च पदका व्यक्तिहरु रहेकै कार्यक्रममा दह्रोसँग बुद्ध र नेपालको बारेमा आफ्नो अडान राखेका डाक्टर( खेन्पो छिमे छिरिङ ) लाक्र्याल लामालाई बुद्धको महिमा प्रचार गर्ने लुम्विनी विकास कोषमा नियुक्त गर्न लागिएको छ ।

    समाचारस्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लामालाई नियुक्त गर्दा राम्रो सन्देश जाने धारणा राखेका छन् । प्रधानमन्त्रीको पनि संकेत पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने प्रस्ताव लैजान लागेको बुझिएको छ ।

    एक अन्तराष्ट्रिय कार्यक्रममा संविधानसभा सदस्य समेत रहेका बौद्ध धर्म गुरु खेन्पो छिमे छिरिङ ( लाक्र्याल ) ले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्न नसक्नु बुद्धको अपमान हुने बताएका थिए ।

    उनले बुद्ध नेपालमा जन्मेको र भारतमा ज्ञान प्राप्त गरेको विषयलाई विश्व बौद्ध सम्मेलनमा महत्वका साथ उठाएका थिए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको विश्व बौद्ध सम्मेलनमा उनले सम्बोधन गर्दा भारतीय मन्त्री तथा विशिष्ठ व्यक्तिहरु सहभागी थिए ।

    लामाले भारत बुद्दको पनि पवित्र भूमि भएकोमा कुनै द्वविधा नभएको बताउँदै कुनै बेलाको गणराज्य लुम्बिनीमा बुद्ध जन्मिएको भन्न कसैले आनाकानी गर्नु नपर्ने बताएका थिए । सो डाक्टरको यो अभिव्यक्तिले देशको गरिमा उँचो भएको त्यो बेला बिश्लेषण पनि गरिएको थियो ।

    यसअघि मन्त्री किरातीले भने कोषको उपाध्यक्षमा गायिकासमेत रहेकी आनी छोईङ डोल्मालाई नियुक्त गर्ने तयारी गरेका थिए । किरातीले आनीसँग पनि भेटवार्ता गरेको तस्विर राखेका थिए ।

    कोषको उपाध्यक्षको दौडमा रहेकी आनीसँगको भेटबारे मन्त्रीले नै तस्विर सार्वजनिक गरेपछि केही आलोचना पनि भएको थियो । तर, प्रधानमन्त्री दाहालले कोषको उपाध्यक्षमा लामालाई नियुक्त गर्न निर्देशन दिएपछि मन्त्री किरातीपनि आनीलाई नियुक्त गर्ने तयारीबाट ब्याक भएका हुन् । प्रधानमन्त्री दाहालले डा। ल्यारक्याल लामालाई नियुक्त गर्दा बौद्ध धर्मालम्बीहरुमा राम्रो सन्देश जाने र लामा पार्टीको पनि मान्छे भएकोले उनैलाई नियुक्त गर्दा राम्रो हुने कुरा मन्त्री किरातीलाई बताएका थिए ।
    कोषको अध्यक्ष भने पर्यटनमन्त्री रहने व्यवस्था छ । कोषको उपाध्यक्षको कार्यकाल भने पाँच वर्षको हुनेछ । कोषको उपाध्यक्षको दौडमा अहिलेका उपाध्यक्ष भिक्षु मैत्रये (अवधेश त्रिपाठी ) देखि गायिका आनी छोईङ् डोल्मा पनि देखिएका छन् ।