• काठमाडौं : त्रिभुवन विमानस्थल हुँदै तस्करी भएको करिब एक सय किलो सुन प्रकरणमा थप एक जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा सुरेन्द्र तामाङलाई पक्राउ गरिएको हो ।

    सुरेन्द्र तामाङ काठमाडौंबाट पक्राउ परेका हुन् । उनले सुन कारोबार गर्नेहरुलाई गोदाम खोज्ने काम गरिदिएका थिए । सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जीक्वाङ लिनसहित अहिलेसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई खटाएको छ । सशस्त्र प्रहरी बलका डिएसपी प्रदिप राई सुन बरामद गर्दादेखी नै अपरेशनमा सहभागी छन् ।

    असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेडका संचालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका २१ वर्षीय दिलिप भुजेल हुन् ।

    पक्राउ गरिएको आरोपीतहरुविरुद्द विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन–०५२ विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको काम अघि बढेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।