• कास्की । आहा रारा पोखरा गोल्ड कपमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अमेरिकाको भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) सेमिफाइलनमा प्रवेश गरेको छ ।

    छ पटकको आहा राराको विजेता मनाङ मर्स्याङ्दीलाई बीवाईएससीले एक–शून्य गोलले हरायो । आमन्त्रित पाहुना टोलीले प्रतियोगितामा सुखद सुरुवात गर्दा गोल्ड कपको इतिहास बोकेको मनाङ बाहिरियो ।

    पाहुना टोलीका लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकी टोली सेमिफाइनलमा पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाइज युनाइटेडसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

    २२ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपको पहिलो सेमिफाइनल खेल भोलि बुधवार सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लबबीच हुने छ । एपीएफ र सङ्कटा दुवै एक/एक पटकको आहा रारा गोल्ड कपका च्याम्पियन हुन् ।