• काठमाडौं : मच्छिन्द्र एफसीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

    शहीद स्मारक ुएु डिभिजन लिगको साविक विजेता मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै ुएु डिभिजन लिगको नवप्रवेशी टिम चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।

    पहिलो हाफमै दुई गोलले पछि परेको मच्छिन्द्रले दोस्रो हाफमा भने केही सुधारिएको खेल प्रदर्शन गर्‍यो । चर्च ब्वाइजले खेलको २३ औँ मिनेटमा गोल गर्‍यो । अञ्जन विष्टले मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठमात्रै भएको अवस्थामा गरेको हेडरलाई किपरले बचाएका थिए । तर क्लियर हुन नसकेको बललाई आशिष चापागाँईले गोलमा परिणत गरे ।

    चर्च ब्वाइजले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै पहिलो हाफमा दुई–शून्यको अग्रता बनायो । आशिष चापागाँईले मच्छिन्द्रका तीन जना डिफेन्डरको बीचबाट प्रहार गरेको बल गोलमा परिणत भयो ।

    चर्च ब्वाइजले खेलको ६७ औँ मिनेटमा अर्को गोल थप्यो । आशिष चापागाँईको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे । खेलको ८९ औँ मिनेटमा मच्छिन्द्रका सौरभ सुब्बाले सान्त्वना गोल गरे । त्यसपछि थप गोल हुन नसकेपछि चर्च ब्वाइज तीन(एकले विजयी भयो । खेलमा चर्च ब्वाइजका आशिष चापागाँई म्यान अफ दि म्याच भए ।

    भोलि सोमवार तेस्रो क्वाटरफाइनल खेलमा सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।