• काठमाडौं : कतारमा जारी फिफा विश्वकप २०२२ मा फाइनल समिकरण पुरा भएको छ।

    हालसम्म ६४ मध्ये ६२ खेल सकिएका छन्। ४ राष्ट्र (क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को) ले अबका बाँकी चार खेल खेल्नेछन्।

    नेपाली समय अनुसार आइतबार राति ८ः४५ बजे लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि खेल्नेछन्। यस्तै तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शुक्रबार राति खलिफा इन्टरनेशनल स्टेडियमा खेल्नेछन्। यो सँगै फ्रान्स र अर्जेन्टिनामध्ये एकले उपाधि जित्ने पक्का छ।

    यस्तै प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट अवार्ड प्रदान गर्दै आएको छ।

    यसपालि फाइनलमा पुगेका फ्रान्स र अर्जेन्टिनाका खेलाडीनै गोल्डेन बुट र गोल्डेन बलको दौडमा अगाडि देखिएका छन्।

    फ्रान्सका केलियन एम्बाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा कतारमा जारी फिफा विश्वकप (२०२२ मा गोल्डेन बुटको दौडमा सुरूदेखिनै अगाडि रहेका उनलाई अर्जेन्टिनाका कप्तान लिओनल मेसीले उछिनेका छन्।

    गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लिओनेल मेसीसँगै फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे बीच प्रतिस्पर्धा छ। दुवै खेलाडीले समान ५÷५ गोल गरेका छन्। असिस्टको आधारमा लिओनेल मेसी शीर्षस्थानमा छन्।

    फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ। असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन्। हाल मेसीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट छ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ। हालको अवस्थामा मेसी नै गोल्डेन बलको पनि दावेदार छन्।

    मेसी सर्वाधिक असिस्टको सूचीमा पनि फ्रान्सका ग्रिजमनसँग बराबरीमा छन्। मेसी र ग्रिजमनले समान ३/३ असिस्ट दिएका छन्।