• काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४–२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

    क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे ।

    पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कतारको लुसेल मैदानमा आज बिहान भएको खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक र स्टिभन बर्घिअसले गोल गर्न सकेनन् ।

    अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिर गयो । खेलको पहिलो हाफको ३५औँ र दोस्रो हाफको ७३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्यो । नेदरल्यान्ड्सले दोस्रो हाफको ८३औँ मिनेटमा र इन्ज्युरी समयको दशौँ मिनेटमा गोल गरी बराबरी गरेको थियो ।

    अर्जेन्टिनाका मोलिना र कप्तान लियोनल मेस्सीले गोल गरेका थिए । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । नेदरल्यान्ड्सका वुट वेघोर्स्ट दुई गोल गरे । तर अतिरिक्त समयमा गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा पुगेको थियो ।

    अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियासँग खेल्नेछ ।