• काठमाडौं : सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

    आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको विषयमा छलफल हुने बताइएको छ ।

    सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।

    यसैगरी माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिन्छ ।

    चुनावमा सत्ता गठबन्धनको भावना अनुसार भोट नआएको भन्दै माओवादी केन्द्रका केही नेताहरुमा असन्तुष्टि देखिएको छ ।