• काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आउँदो दिनमा चुनावको नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ ।

    बुधवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् ।

    पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भोलि बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेपछि पार्टीले निष्कर्ष निकाल्ने बताए । उनले जनाधारलाई मध्यनजर राखेर गठबन्धनलाई अघि लैजानुपर्ने कुरामा आज केन्द्रीय सदस्यहरुले जोड दिएको बताए ।

    प्रवक्ता महतले पार्टीको भ्रातृ संरचना र सङ्गठनहरुलाई पूर्णता दिने र आउँदो प्रदेश र सङ्घको चुनावका लागि नयाँ अभियान सुरु गर्नुपर्ने कुरा पनि उठेको बताए । उनले पार्टी भित्रका असन्तुष्टिहरु पार्टीभित्र नै कुराहरु अभिव्यक्त गर्नुपर्ने कुरा पनि छलफल भएको बताए । त्यस्तै सरकारका एकवर्षे कामहरुको बारेमा पनि छलफल भएको बताए ।

    प्रवक्ता महतले महँगी, मूल्यवृद्धि, मलखादको अभावका बारेमा सरकार गम्भीर बनेर आउँदो चुनाव लक्षित हुनुपर्ने माग बैठकमा उठेको बताए ।