• काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको अहिलेको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताएका छन् ।

    आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थ मन्त्री युवराज खतिवडा भएको बताएका हुन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिस्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्दै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने बताए । उनले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेहरूले परिवर्तनअनुसारको ऐन, कानुन निर्माण गर्न नचाहेको पनि बताए ।

    उनले भने, ‘हाम्रो अगाडि उहाँले शोधनान्तर घाटाको कुरा गर्नुभयो । यो शोधनान्तर घाटाको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हुन् ।’

    अध्यक्ष दाहालले विगतमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रस्ताव आफूले राखेको कुरा हेक्का राख्न आग्रह गरे । उनले एमसीसीलाई व्याख्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफूहरूले नेतृत्वदायी भूमिका खेलेको बताए ।

    अध्यक्ष प्रचण्डले कम्युनिस्टहरू हरेक विषयको वैज्ञानिक ढङ्गले विश्लेषण, संश्लेषण गर्न सक्षम हुने बताउँदै उनले कम्युनिस्टहरू बिग्रिएमा सढेको अण्डाजस्तै हुने बताए ।