• काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै अमेरिकी उपमन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको आरोप लगाएका छन् ।

    आज बुधवार पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उपमन्त्री (अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी) ले त्यस्तो गर्नु बेठिक भएको बताए । उपमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्यहरूलाई खण्डित गर्ने व्यवहार भएको उनको भनाइ छ ।

    अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अमेरिकी उपमन्त्रीको नेपाल भ्रमणमा हाम्रा परराष्ट्र नीतिका स्थापित मूल्यहरूलाई खण्डित गर्ने प्रकारका व्यवहार भयो । नेपाल असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध छ । हामी जहिले पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौँ । उपमन्त्री तिब्बती शरणार्थीहरूको क्याम्पमा पुगेर त्यहाँ उक्साउने काम गरियो र नेपाली भूमिलाई प्रयोग गर्ने काम गरियो । त्यो वास्तवमा बेठिक थियो भन्ने कुरा पनि अध्यक्ष ओलीले बताए ।’

    ओलीले सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थित, तर्कयुक्त र वस्तुसम्मत तरिकाले चिरफार गर्दै संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशनसमेत दिएका थिए ।