• काठमाडौँ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छ । शृङ्खलाको पहिलो खेलअन्तर्गत नेपालले आज युगान्डाविरुद्ध पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

    अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको डेढ दशकपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । सन् २००७ मा मलेसियामा सम्पन्न एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको थियो । यसअघि, गत मंसिरमा नेपालले कतारविरुद्ध तीन खेलको शृङ्खला खेलेको थियो । कतार भ्रमण नेपालले शृखला ‘क्लिन स्विप’ गरेको थियो ।

    महिला टोलीले घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसअघि, २०१९ मा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका जुरेको थियो । पोखरामा सम्पन्न महिला क्रिकेटमा नेपालले कास्यपदकमा चित्त बुझाउनुपरेको थियो ।

    युगान्डाविरुद्धको खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।