• काठमाण्डौ : आउँदो शनिवारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ‘ए’ टोलीसँग हुने तीन एकदिवसीय र तीन टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधवारदेखि प्रशिक्षण थालेको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वेसँग हुने एकदिवसीय र टी–२० शृङ्खलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै आजदेखि प्रशिक्षण थालेको हो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टोलीले पहिलो दिन आज ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो । यसअघि हिजो मङ्गलवार टोलीले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा फिटनेसको अभ्यास गरेको थियो ।

    त्रिवि मैदानमा आयोजना हुने शृङ्खलाका लागि क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो । यो टोलीमा बसिर अहमदले पहिलो खेल खेल्दै गर्दा सुनिल धमला लामो समयपछि टोलीमा फर्किएका छन् । यही टोलीबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।