• काठमाण्डौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख ३० गते हुने पालिका चुनावमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।

    नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको अवसरमा आज शुक्रवार शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो अपिल गरेका हुन् । ‘प्रतिगमनविरूद्धको संयुक्त सङ्घर्षका क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ । यही मान्यताका आधारमा वैशाख ३० गते हुने पालिका चुनावमा गठबन्धनले सबै पालिका र वडामा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ । तसर्थ, आउँदो चुनावमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराइ संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न विशेष अपिल गर्दछु’, प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

    अध्यक्ष प्रचण्डले सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार हुने क्रम नरोकिएको भन्दै प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवम् तानाशाही प्रवृत्तिविरूद्ध सङ्घर्ष गर्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको उनको भनाइ छ ।

    आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवम् श्रमजीवी वर्गका निम्ति गौरवको दिन भएको उनको भनाइ छ ।