• काठ्माण्डौ :  नेपाली राष्ट्रिय फुटबल टिमले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ६ बजे सुरुहुने छ ।

    नेपालभन्दा फिफा वरियतामा माथि रहेको थाइल्याण्डसँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यसअघि नेपाल र थाइल्याण्ड भिड्दा दुवै पटक थाइल्याण्ड नै विजयी रहेको थियो ।

    यस्तै आगामी आइतबार नेपाली टिमले त्यहीको चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने छ । चोनबरी थाल्याण्डको शीर्ष डिभिजन क्लब हो । जुन ८ तारिखदेखि नेपाली टिमले कुवेतमा एसियन कप छनोटको तेस्रो चरणको प्रतिस्पर्धा गर्ने छ ।

    छनोट चरणमा नेपालले कुवेत, जोर्डन र इन्डोनेसियासँग खेल्ने छ । पहिलो खेलमा जुन ८ तारिखमा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा ११ तारिखमा कुवेतसँग खेल्ने छ । यस्तै १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।