• काठमाण्डौ । क्रिकेट अस्ट्रेलियाले आफ्ना खेलाडीहरू पाकिस्तानमा पूर्ण रूपमा सुरक्षित साथ बसिरहेको स्पष्ट पारेको छ । झन्डै २५ वर्षपछि पाकिस्तान पुगेको अस्ट्रेलियाको क्रिकेट टोलीका सदस्य अस्टन अगरलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएपछि सुरक्षाको विषयमा चासो उत्पन्न भएको छ । तर सामाजिक सञ्जालमा प्राप्त भएको अगरविरुद्धको धम्कीलाई जोखिम नमानिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

    यस्तै अस्ट्रेलियाका खेलाडी स्टिभ स्मिथले पनि २५ वर्षमा भएको पहिलो पाकिस्तान भ्रमणमा अविश्वसनीय रूपमा सुरक्षित महसुस गरेको बताएका छन् । ‘हामीसँग यहाँ काम गर्ने धेरै व्यक्तिहरू छन्, हामी आफ्नो सुरक्षामा विश्वास गर्छौँ र हामी पाकिस्तानमा अविश्वसनीय रूपमा सुरक्षित महसुस गरिरहेका छौँ’, स्मिथले भनेका छन् ।

    अहिलेको टिमका धेरै खेलाडी पहिलो पटक पाकिस्तान आएकाले सबै उत्साहित रहेको र पाकिस्तानीहरू क्रिकेटप्रति निकै उत्साहित रहेको पाएको स्मिथको भनाइ छ ।

    पाकिस्तान र अस्ट्रेलियाबीचको पहिलो टेस्ट आउँदो शुक्रवारदेखि सुरु हुनेछ । पाकिस्तान र अस्ट्रेलियाबीच तीन टेस्ट, तीन एकदिवसीय र एउटा टी–२० खेल हुँदैछ ।