• काठमाण्डौ । अफगानिस्तानसँगकोे तीन खेलको एकदिवसीय शृङ्खला बङ्गलादेशले जितेको छ । आज चितागोङमा भएको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानलाई ८८ रनले हराएसँगै बङ्गलादेशले एक खेलअघि नै दुई–शून्यले शृङ्खला जितेको हो ।

    बङ्गलादेशले दिएको तीन सय सात रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४५ ओभर १ बलमा दुई सय १८ रन बनाउँदै अलआउट भयो । उसका लागि नजिबुल्लाह जदरनले ५४, रहमत शाहले ५२ र मोहम्मद नाबीले ३२ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसन र तस्किन अहमदले दुई–दुई विकेट लिए । यस्तै मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, मेहिदी हसन, महमुदुल्लाह र अफिफ होसेनले एक–एक विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ६ रन बनायो । उसका लागि लिटन दासले एक सय ३६, र विकेटकिपर मुशफिकुर रहिमले ८६ रन बनाए । बलिङतर्फ फरीद अहमदले दुई विकेट लिए भने फजलहक फरुकी र राशिद खानले एक–एक विकेट लिए ।

    यसअघि अस्ति भएको पहिलो खेलमा बङ्गलादेशले अफगानिस्तानलाई चार विकेटले हराएको थियो ।