• काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले च्यासल युथ क्लबलाई हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा आज बिहीवार भएको खेलमा सातदोबाटोले च्यासललाई एक–शून्य गोल अन्तरले हराएको हो । सातदोबाटोका लागि खेलको सातौँ मिनेटमा मार्टिन्स अजयीले गरेको गोल निर्णायक भयो ।

    यो जितसँगै १३ खेलमा सातदोबाटो २१ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा ६ अङ्कसहित तालिकाको अन्तिम स्थानमा छ । च्यासल यसअघि नै ुरेलिगेशनु मा परिसकेको छ ।

    त्यसैगरी त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । शेर्पा र फ्रेन्ड्सले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडे । फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिए पनि शेर्पाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगायो । खेलको ७३ औँ मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो ।

    खेलको ८९ औँ मिनेटमा हिमालयन शेर्पाका विसन गुरुङले गोल गर्दै खेललाई एक–एक गोलको बराबरी ल्याए । यो बराबरीसँगै हिमालयन शेर्पाले १४ अङ्क जोड्दा फ्रेन्ड्सको ११ अङ्क भएको छ ।