• साओ पाउलो । ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ । यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

    सरकारी अधिकारीहरुले अप्रिल महिनामा कोरोनाका कारण नराम्रो क्षति धेरै वेहोर्नु पर्ने अवस्था रहेको बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६५२ जना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या एक करोड ३२ लाख ७९ हजार ८५७ पुगेको छ । एजेन्सी