• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए ।

    कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताए । सभा हुनुअघि रत्नपार्क शान्तिवाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी चढाएको थियो ।

    राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ । राणाशासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सिफल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।