• काठमाडौं । आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।

    उनले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिनेछन् ।

    नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।

    स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

    खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

    खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उनले बताए । खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।