• काठमाडौं । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात भएको जनाएको छ । उक्त पाइपलाइन खण्डअन्तर्गत पर्ने विहार प्रान्तको लकड़ी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजेल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको जानकारी आएको निगमले जनाएको हो । आज विभिन्न सञ्चारमाध्यममा पाइपलाइन फोडेर इन्धन चोरी भएको समाचार सार्वजनिक भएपछि निगमले इण्डियन आयल कर्पोरेशनको मोतिहारी कार्यालयसँग सम्पर्क गर्दा उक्त पाइपलाइनबाट डिजेल चोरीको प्रयास गरिएको तर त्यसको कारणबाट कुनै ठूलो परिमाणमा क्षति नभएको जानकारी प्राप्त भएको जनाइएको छ ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पाइपलाइनमा कुनै समस्या नआएको भन्दै निरन्तर तोकिएको परिमाणमा डिजेल आयात भइरहेको बताएका छन् । उनका अनुसार पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० हजार लिटर डिजेल आयात भइरहेको छ ।

    पाइपलाइन सुरक्षाको सम्पूर्ण जिम्मा भारतीय पक्षको भएको भन्दै नेपाललाई कुनै पनि नोक्सानी नभएको जनाइएको छ ।