• वासिङ्टन । अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो ।

    राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउँदै आएका छन् । राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्नेगरी दोस्रो बहसको तयारी गरिरहेको थियो ।

    राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो । यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो । सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुित फितलो भएको चर्चा चलिरहेका बेला उनले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका थिए ।

    उनले आफू राष्ट्रपतीय बहसका लागि अनिश्छुक रहेपनि चुनावी र्‍यालीका लागि भने तयार रहेको शुक्रबार बताएका थिए । गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुदै उनले आफूलाई पूर्ण स्वास्थ्य लाभ भइसकेकाले र्‍यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका छन् ।

    उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् । अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख दश हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौ सङ्क्रमित भएका छन् ।

    टेलिफोनबाट गरिएको अन्तरवार्ताका क्रममा उनले आफु कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थिए । सोही अन्तरवार्तामा दोस्रो राष्ट्रपतीय बहसमा भने आफु सहभागी हुन नचाहेको उनले बताए । उनीहरुबीचको तेस्रो राष्ट्रपतीय बहस भने यही अक्टोबर २२ तारिखका लागि तय गरिएको छ । त्यसका बारेमा भने अहिलेसम्म अन्यौलता नै रहेको छ ।

    अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लागेका छन् ।

    त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । एजेन्सी