• काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्राली बीच यस बैंकलाई वित्तीय साझेदार बनाउने सहमति भएको छ ।

    उक्त समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेल हस्ताक्षर गरेका छन् । उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले यस बैंकलाई वित्तीय साझेदार बनाउने र बैंकले पनि किया ब्राण्डका सवारी उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख गरिएको छ ।

    बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत किया ब्राण्डका कारहरू ग्राहकहरूले खरिद गर्न सक्नेछन् । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजद्वारा बिक्री गरिने किया ब्राण्डका कार खरिद गर्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा रहेको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकहरूले लिन सक्नेछन् ।

    बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ भने बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच भएको छ ।

    यो सुविधाअन्तर्गत उक्त कम्पनीका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिन सक्ने समझदारीपत्रमा उल्लेख छ । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

    कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ । यसका लागि सवारी खरिद गर्न चाहनेहरूले ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सक्नेछन् । यस बाहेक ३४४८८ मा लोन टाइप गरी एसएमएस गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । साथै बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ तथा इमेलमार्फत समेत कर्जाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको जानकारी दिएको छ ।