• काठमाडौं । शनिबार थप १०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि र एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा उनले थपिएका नयाँसहित हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको जानकारी दिएका हुन् ।

    त्यसैगरी बाराको परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचारका क्रममा साउन ९ गते शुक्रबार साँझ मृत्यु भएको सो अवसरमा प्रवक्ता गौतमले जानकारी दिएका छन् । यीसँगै हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेका संख्या ४५ पुगेको छ । उनका अनुसार हाल आइसोलेसनमा ५ हजार ३८५ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट थप १०६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म कुल संक्रमितमध्ये कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो निको हुने दर ७०.६ प्रतिशत भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७५ वटा नमूनाको परीक्षण भएको थियो । अहिले देशभरिका क्वारन्टीनमा १८ हजार १८३ जना बसिरहेका छन् ।