• इलाम । राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी जोन’ निर्माण भएपछि त उत्साह मिलेको छ । देशभित्र नै किवीको माग धेरै रहेकाले यसका लागि प्रोत्साहन गर्नुपर्ने सन्दकपुर–३ का तारामणि खतिवडा बताउँछन् ।

    “देशमा आवश्यक मागको १० प्रतिशत किवी हामीले धानेका छौँ । अरू बाहिरैबाट आउँछ”, लामो समयदेखि किवी खेतीमा लाग्नुभएका खतिवडा ४० रोपनी क्षेत्रमा खेती गरेको सुनाउँछन् । कृषकमा खेतीसम्बन्धी जानकारी लिन प्रशिक्षण कम भएको र यसको फाइदाका बारेमा जानकारी नभएकाले किसान जागरुक नभएको उनको भनाइ छ । “कृषकका लागि आएका कार्ययोजना कृषक सामु आइ नै पुग्दैनन् न त अनु्दान नै आउँछ । त्यसैले धेरै किसानले किवी बारे जानकारी पाएका छैनन् ।”

    करिब ५०० विरुवा ग्रीन र १०० विरुवा रेड किवी रोपेका खतिवडाले गएका वर्षमा मात्रै तीन हजार किलो किवी बेचेको बताउँछन् । आउँदो वर्षलाई करिब २५ हजार बिरुवा उत्पादन गर्न नर्सरी गरेको खतिवडाले बताए । “किवीमा राम्रै आम्दानी हुन्छ त्यसैले धेरै बिरुवा राखेको हुँ” खतिवडाले भने ।

    बहुवर्षे विरुवा भएकाले सधै खटिरहनु नपर्नाले धेरैले किवी खेती गरेका छन् । यसका बारेमा किसानले धेरै बुझेकाले उत्साह फैलिएको देउकुमार राई बताउँछन् । “माग अत्यन्तै धेरै छ । मैले यसै वर्ष २० हजार बिरुवा नर्सरी गरेको छुँ ।” राईले भने, “सुधारिएको हेवार्ड जातको माग धेरै छ ।” एक पटक रोपेको बिरुवाबाट ५० वर्ष उत्पादन लिन सकिने भएकाले एकैचोटी धेरै बिरुवा रोप्नु उपयुक्त हुने राईको भनाइ छ । रोग नलागेमा किवीले ३० वर्षसम्म उच्च मात्रामा उत्पादन दिने र त्यसपछि घट्दै जाने राईको भनाइ छ । समुद्री सतहबाट एक हजार २०० देखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किवी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौँ, भोजपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन भइरहेको छ ।