• काठमाडौँ । नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक दिनमै २४ जनामा सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो । पछिल्लो समय सङ्क्रमण पुष्टि हुनेमा कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना रहेका छन् ।

    सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनले सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालका कुल सङ्क्रमितको सङ्ख्या १३४ पुगेको छ । बिहान १० र दिउँसो एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।