• सिन्धुपाल्चोक । जनशक्ति अभावमा रोकिएको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा चौतारा अस्पताल सिन्धुपाल्चोकले पुनः सञ्चालनमा ल्याएको छ । दक्ष जनशक्ति नभएको जनाउँदै अस्पतालले सो सेवा बन्द गरेको थियो । डा अशोक यादवलाई अस्पतालले नियुक्त गरेसँगै सेवा शुरु गरिएको हो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित प्रजापतिको सक्रियता, सामाजिक विकास मन्त्रालय, वाग्मती प्रदेश र स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको सहयोगमा अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा प्रवाह गरेको हो । सेवा शुरु गरिएसँगै जिल्लावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हट्नुको साथै बाहिर लानुपर्दा हुने लाखौँ खर्च र ज्यानको जोखिम दुवै कम भएको छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित प्रजापतिले भने, “बच्चा उल्टो बसेको, बच्चा खेल्ने पानी सुकेको, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसकेकालगायत जटिल प्रकारका शल्यक्रिया पनि सफलरूपमा हुन थालेको छ ।” शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा शुरु गरेसँगै दुई जनाको सफल शल्यक्रिया भएको छ । उनले भने, “अत्यधिक रगत चाहिने अवस्था र आइसीयूमै भर्ना गर्नुपर्ने अवस्थाबाहेक अन्य सबै प्रकृतिका गर्भवतीको सेवामा हामी २४सै घण्टा सेवा दिन सक्छौँ ।” अस्पतालबाट करारमा डा र एनेश्थेसिया एसिस्टेन्ट नियुक्त गरी आकस्मिक र जटिल प्रसूति सेवा २४सै घण्टा सेवा उपलब्ध गराइएको हो । सेवा सञ्चालनपछि जटिल अवस्थाका गर्भवतीलाई सहज पुगेको अस्पतालका डा अशोक यादवले बताए ।

    प्रसूति सेवा रोकिँदा धेरै गर्भवती जिल्ला छाडेर अन्यत्र शहर जान बाध्य भएका थिए । जटिल अवस्थाका गर्भवतीलाई अस्पताल ल्याइँदा पनि सेवा छैन भनी सुत्केरी गराउन धुलिखेल, थापाथलीमा पठाउनुपर्दाको क्षण अत्यन्त पीडादायी हुने स्वास्थ्यकर्मीले बताए । मातृशिशु मृत्युदर घटाउने उद्देश्यले जटिल (शल्यक्रिया) प्रसूति सेवा गृहजिल्लामा उपलब्ध गराउने सेवालाई निरन्तरता दिइएको हो ।