• बझाङ । मौसममा आएको खराबीका कारण किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । प्रायःजसो केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकलाई पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो । उब्जनीका हिसाबले राम्रो मानिने जयपृथ्वी नगरपालीकाको देवल, भोपुर, रुइनाबगर, साइलाबगर, गोलाइ, पडेस, सुवेडा, खप्तड, थलारा, दुर्गाथली र केदास्युँलगायतका खेत जिउलाहरुमा अहिले पाकेको गहुँ वर्षाले बिग्रँदै गएको छ ।

    एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न नपाएको जयपृथ्वी नगरपालिका–११ भोपुरका कृषक महादेव जोशीले बताए । उनले भने, “कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन झार्न पाएका छैनन् । उनीहरुजस्तै जिल्लाका सबै किसानको उस्तै समस्या हो, पाकेको गहुँ खेतमै कुहिएको छ ।”

    यसपालि गहुँ पसाउने समयमा लगातार वर्षा भइरहदाँ गहुँबालीमा रोग देखिएकाले उब्जनी कम भएको जयपृथ्वी नगरपालीका–३ का किसान गजेन्द्र वलीले बताए । उनीजस्तै जयपृथ्वी नगरपालिका कृषि प्राविधिक मनराज जोशीले यस वर्ष मौसम बदलीका कारण धेरै पानी परेको हुदाँ गहुँमा पहेलो सिदुरे, ढुसीरोग लागेको बताए । यस वर्ष गहुँबालीमा उत्पादन कम हुने निश्चित छ । जिल्लामा डब्लुके एक हजार ४०० धवलागिरि, स्वर्गद्वारी र स्थानीय जातका गहुँ लगाउने प्रचलन रहेको उनले बताए ।

    कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहले सिँचाइ हुने ठाउँमा आकाशेपानी बढी परेकाले गहुँमा सिदुरेरोग देखापरेको बताए । जिल्लामा १० हजार ९०० हेक्टरमा गहुँखेती गर्ने गरिएको छ । चार हजार हेक्टरमा सिँचाइ हुने भएता पनि अन्य ठाउँमा आकाशेपानीको भरमा खेती हुने ज्ञान केन्द्रले जनाएको छ ।