• नयाँ दिल्ली । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २४ हजार ५०६ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

    उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७७५ पुगेको छ ।

    भारतमा देखिएका यी संक्रमितहरूमध्ये ५ हजार ६३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १८ हजार ६६८ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

    शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । एएनआई