• चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमा पुगेर स्वास्थ्य जाँच शुरु गरिएको छ । कोरोना भाइरसको त्राससँगै लकडाउनमा रहेका गाउँपालिकाका नागरिकहरुको मुग्लिन हाइवे अस्पतालले गाउँपालिकाको सहकार्यमा व्यक्तिगत स्वास्थ्य विवरणसहित अद्यावधिक अभिलेख (हेल्थ हिस्ट्री रेकर्ड) समेत घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण सेवा मङ्गलबारबाट शुरु गरेको हो ।

    घरघरमा स्वास्थ्य जोखिम हुने व्यक्तिको पहिचान पनि गरिने र दीर्घरोगीहरुले उपचार पाएको वा नपाएको स्थिति पनि पत्ता लगाउने उद्देश्यका साथ शुरु गरिएको सो सेवाबाट पहिलो दिन वडा नं ५ मुग्लिनका ५८० व्यक्तिको घरमै पुगेर स्वास्थ्य जाँच गरिएको मुग्लिन हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, वडाध्यक्ष मोदराज सिलवालसहित अस्पताल र दारेचोक स्वास्थ्यचौकी कुरिनटारका स्वास्थ्यकर्मीहरुको टोलीले घरघरमै पुगेर स्वास्थ्य जाँच गरेको थियो ।

    गाउँपालिकाभरका हरेक घरधुरीको स्वास्थ्य अभिलेख व्यक्तिगत विवरण भएको सफ्टवेयरमा राखिने र सो विवरणको निरीक्षण गाउँपालिकाको कार्यालयबाट नियमितरुपमा गर्न सकिने व्यवस्था गर्न लागिएकोे अस्पतालका अध्यक्ष लामाले बताए । यसप्रकारको डिजिटल हेल्थ हिस्ट्री भएको सुविधा नेपालमै पहिलो भएको र हरेक व्यक्तिले आफ्नो नियमित स्वास्थ्य जोखिम र स्थितिको विवरण रहेको हेल्थ हिस्ट्री आफ्नो मोबाइलमा एसएमएस एलर्ट प्रणालीबाट नियमितरुपले हेर्न सकिने पनि उनले जानकारी दिए । यो घरदैलो सेवा पहिलो चरणमा गाउँपालिकाको वडा नं ६, ५, ४, ३ को राजमार्ग क्षेत्रमा र दोस्रो चरणमा वडा नं १, २, ७ मा गरिने अध्यक्ष लामाको भनाइ छ ।