

-
कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए । राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो ।
कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उनको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएको छ । खासगरी, चीन, युरोप र उत्तर अमेरिकी मुलुकमा कोरोनाभाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वारेन्टिनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ ।
“हामी अहिले कठिन मोडमा छौं, तर कोरोनाभाइरस र राजनीति दुई भिन्न कुरा हुन्,” सियोलको मतदान केन्द्रमा भेटिएका ५७ वर्षीय ली कुमले बताए । अर्की सियोल निवासी ४५ वर्षीया चुङ युन–योङले आफू मतदान केन्द्रमा लामो लाइनमा बस्नु नपरोस् भनेर बिहानै ६ बजे मतदान केन्द्रमा आइपुगेको बताए ।
“म कोरोनाभाइरसबाट निकै चिन्तित छु,” उनले भने । “अधिकारीहरुले मेरो शरीरको तापक्रम नापे र ग्लोब्स दिए । तर यहाँ मैले सोचेजति दिक्दारीलाग्दो अवस्था रहेनछ ।”
मतदान केन्द्रहरु रहेका सरकारी कार्यालयहरु र स्कुलहरुमा लामा लाइनहरु सर्पजस्ता देखिन्थे । यस चुनावमा ठूलो संख्यामा मानिसले मतदानमा भाग लिएको पाइएको छ ।
सरकारी अधिकारीहरुले आफूखुशी क्वारेन्टिनमा बसेका योग्य मतदाता र करिब १३ हजार कोरोना संक्रमित व्यक्तिहरुलाई चुनावअघि नै मोबाइलबाट मतदानमा सहभागी हुन सक्ने भन्दै सन्देश पठाएका थिए । ज्वरो नआएका वा श्वास प्रश्वासमा समस्या नदेखिएका व्यक्तिलाई साँझपख ५.२० बजेदेखि ७ बजेसम्म मतदान केन्द्रमा आएर मतदान गर्न सक्ने सूचना दिइएको छ । अन्य व्यक्तिका लागि भने ५ बजेपछि मतदान गर्न नपाउने व्यवस्था गरिएको छ ।
क्वारेन्टाइनमा रहेका मतदातालाई ट्राकिङ एप्सको सहयोगमा अनुगमन गर्ने वा अर्को व्यक्तिको साथमा मतदान केन्द्रसम्म ल्याउने व्यवस्था गरिएको छ । यस्ता मतदातालाई एकअर्कासँग २ मिटरको दूरीमा राखिने प्रबन्ध गरिएको चुनाव अधिकारीहरुले बताएका छन् । चुनावमा खटिने व्यक्तिहरुले सुरक्षात्मक पोशाक लगाउने तथा प्रत्येक मतदाताले मतदान गरिसकेपछि मतदान स्थललाई सफाई गर्ने योजना बनाइएको छ ।
अस्पतालमा उपचारारत व्यक्तिले भने हुलाक मार्फत मतदान गर्न पाउने छन् । करिब ४०० जना सामान्य बिरामी व्यक्तिले भने अस्थायी आश्रयबाटै बिहानै मतदान गरिसकेका छन् ।
दक्षिण कोरियामा १० हजार ५९० जनाभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २२५ जनाको मृत्यु भएको छ । पछिल्ला साताहरुमा नयाँ संक्रमित व्यक्तिहरुको संख्या घट्न थालेको छ । तर निकै घनाबस्ती रहेको सियोलमा कोरोनाको संक्रमण फैलिने खतरा बढेको अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ । संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ स्थान समानुपातिक प्रतिनिधित्व हुने गर्दछ ।
दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भएपनि राष्ट्रपति मून जाए–इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । एपी
News Desk 0 response बुधबार, बैशाख ३, २०७७


सम्बन्धित शीर्षकहरु
-
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१