

-
दुबई । ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो ।
कोरोनाभाइरसको महामारीका कारण तेलको माग घटे पनि खासगरी साउदी अरेबिया र रसियाले उत्पादन नघटाएपछि खनिज तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा व्यापक रुपमा घटेको थियो ।
अमेरिकी ऊर्जा मन्त्री ड्यान ब्राउलिटले एक दशकयता यतिठूलो परिमाणमा ओपेकले तेलको उत्पादन घटाएको सम्भवतः यो पहिलो पटक रहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया र रसियाबीच जारी तेलको बजारभाउको युद्ध अन्त्य गर्न मध्यस्थता गरेकै कारण उत्पादन कटौतीमा सहमति जुटेको पनि उनले बताए ।
कोरोनाभाइरसका कारण विश्वभर मानिसको यात्रामा कमी आएको तथा तेलको उच्च माग हुने उत्पादन क्षेत्रमा काम लगभग ठप्प भएका कारण तेलको मूल्यमा व्यापक गिरावट आएको थियो । यही कारण अमेरिकी तेल उद्योग पनि नराम्रोसँग संकटमा फसेको छ । अमेरिकामा हाल विश्वका अन्य कुनै मुलुकमा भन्दा बढी कच्चा तेल उत्खनन् हुने गरेको छ ।
तर कतिपय तेल उत्पादकहरु आपूर्तिलाई सहज बनाउन त्यति इच्छुक देखिएका छैनन् । तेल उत्पादकहरुबीच आइतबार भएको सहमतिमा मेक्सिकोलाई प्रति महिना एक लाख ब्यारेल मात्र उत्पादन कटौती गर्न भनिएको छ । ओपेकका सदस्यसहित कूल २३ राष्ट्रबीच भएको सहमति अनुसार मे र जुन महिनामा प्रतिदिन ९७ लाख ब्यारेल तेल उत्पादन कटौती हुनेछ ।
एसियाली शेयर बजार खुला हुनुभन्दा ठीक अगाडि भएको यस सम्झौताको एसियामा मिश्रित असर परेको देखिएको छ । ब्रेन्ट कच्चातेलको बजारमूल्य प्रति ब्यारेल ३१ अमेरिकी डलरको आसपासमा रहेको छ, तर अमेरिकी कच्चा तेलको मूल्यमा खासै फेरबदल देखिएको छैन ।
ओपेक, रसिया र अन्य तेल उत्पादकबीच भएको सम्झौतालाई साउदी ऊर्जा मन्त्री अब्दुलाजीज बिन सल्मानले हस्ताक्षर गरेका थिए ।
नाइजेरियाली ऊर्जा मन्त्रालयले जारी गरेको वक्तव्यमा उत्पादन कटौतीपछि तेलको मूल्यमा तत्कालै प्रतिब्यारेल कम्तीमा १५ अमेरिकी डलर वृद्धि हुने उल्लेख छ ।
उत्पादन कटौतीप्रति शुरुमा बिमती राखेको मेक्सिकोले अमेरिकाले तेल कटौतीबाट उत्पन्न हुनसक्ने प्रभाव न्यूनीकरण गर्न सघाउने आश्वासन प्राप्त भएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “ओपेक प्लससँग ठूलो सम्झौता भएको छ । यसले ऊर्जा क्षेत्रमा लाखौं अमेरिकीको रोजगारी जोगिएको छ । म यसका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरेबियाका राजा सल्मानलाई धन्यवाद सहित बधाई दिन चाहन्छु ।”
रसियाली राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनले सम्झौताको कार्यान्वयनका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी राजा सल्मानसँग आग्रह गरेका जनाएको छ ।
रेमन्ड जेम्समा कार्यरत ऊर्जा विश्लेषक मोहम्मद गुलामले पछिल्लो सम्झौता ऊर्जा उद्योग तथा विश्व अर्थतन्त्रका लागि कम्तीमा एउटा अस्थायी राहत भएको टिप्पणी गरेका छन् । उनले भने, “यो उद्योग विशाल छ र गठबन्धनका मुलुकहरुले सम्झौता मार्फत जिम्मेवारी प्रदर्शन गरेका छन् ।” रासस/एपी
News Desk 0 response सोमवार, बैशाख १, २०७७

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


