• काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरसको रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको गैरआवासीय नेपाली सङ्घ कार्यकारी (एनआरएनए आइइएस) को बैठकले कोरोना भाइरस राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट एक करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको सामग्री खरिद गरी सरकारलाई हस्तान्तरण गर्ने निर्यण गरेको हो ।

    उक्त सहयोग हस्तान्तरणपछि उठ्ने रकम भने विदेशमा नै बस्ने नेपालीको सहयोगका लागि राहतस्वरुप खर्च गरिने सङ्घले जनाएको छ । सङ्घले कोरोनाको नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सहयोग गर्न विश्वभरका नेपालीमाझ आह्वान गर्दै आएको छ । बैठकले सङ्घ क्रियाशील सबै क्षेत्रमा कोरोना भाइरसका विरुद्ध लड्न समिति बनाएर, नेपालीलाई सहयोग गर्न, भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी) लाई निर्देशन दिएको छ । यसैगरी नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण सङ्घ, संस्था र प्रतिष्ठित र सम्बन्धित व्यक्तिको समेत प्रतिनिधित्व हुने गरि समिति बनाउने निर्णयसमेत गरेको छ ।

    सोही समितिले सहयोग र उद्धारका लागि काम गर्न नेपाल सरकारसँग प्रस्ताव गर्नेछ । यसका लागि पहल गर्न सङ्घका अध्यक्ष पन्तलाई जिम्मेवारी दिएको सङ्घका सूचना तथा सञ्चार उपसंयोजक कृष्ण केसीले जानकारी दिएका छन् ।