

-
बेनी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै उत्पादन भएको दूध गाइभैँसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको कृषकहरुको गुनासो छ ।
अठार वर्षदेखि व्यावसायिकरूपमा भैँसीपालन गर्दै आएका बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेलले दैनिक १०० लिटर बढी दूध खेर गएको दुःखेसो पोखे । सत्र वटा भैँसी पालेका वरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलले २५० लिटर बढी दूध उत्पादन हुने गरेकामा खपत घटेपछि दूधलाई व्यवस्थापन गर्न समस्या आएको बताएका छन् ।
बिहान उत्पादन भएको दूधमध्ये दैनिक ८० लिटर बजारमा ल्याएर बिक्री गर्ने गरे पनि बाँकी १०० लिटर बढी दूध दैनिकरूपमा खेर जाने गरेको उनले बताए । “केही दुधलाई कुराउनी, पनिर बनाएर सदुपयोग गर्ने कोसिस गरेको छु, तर त्यो पनि विक्री गर्न कठिनाइ छ, विक्री नहुने दूधलाई पाडापाडी र भैँसीलाई नै खुवाउने गरेको छु”, पौडेलले भनेका छन् ।
कृषकहरुले आफूले उत्पादन गरेको दूधलाई बजारमा डेरीमा प्रतिलिटर १०० र फुटकर १२० रुपैयाँमा बिक्री गर्दै आएका छन् । व्यावसायिकरूपमा गाईभैँसी पालन गर्दै आएका अर्थुङ्गेका युवा कृषक कमल पौडेलले उत्पादन भएको आधाभन्दा बढी दूधलाई खेर फाल्नुपर्दा ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए । “मेरो फार्ममा एउटा गाई र नौ भैँसी छन्, दैनिक ८० लिटरसम्म दूध उत्पादन गर्छु, आधा पनि खपत हुन्न, बाँकी दूध भैँसीलाई नै खुवाउने र खेर फाल्नुपर्ने बिडम्बना आएको छ”, उनले भनेका छन् ।
बेनी बजार आसपासका कृषकहरुले दैनिक उत्पादन गर्ने दूधको ६० प्रतिशत उत्पादन खेर गएको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभैँसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष जीवनप्रसाद पौडेलले बताए । “बजार बन्द जस्तै छ, दूध लैजान समस्या त छैन, तर खपतै नहुने भएपछि कहाँ लगेर बिक्री गर्नु ?”, उनले भने । बजारमा केही डेरी पसलहरु सञ्चालनमा आए पनि माग न्यून भएकाले उत्पादन भएको सबै दूध बिक्री गर्न नसकिएको पौडेलको भनाइ छ ।
छ वटा भैँसी पाल्दै आउनुभएका कृषक पौडेलले दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन हुने भए पनि त्यसको आधा पनि बजारीकरण गर्न नसकेको बताए । बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिकरूपमा दूध उत्पादन गर्ने गरी गाईभैँसी पालन गर्दै आएका छन् । समितिका अनुसार सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक १५ सय लिटरको हाराहारीमा दूध खपत हुने भए पनि अहिले त्यसको ४० प्रतिशत मात्रै खपत हुने गरेको छ । बेनी नगरपालिकासँगै जिल्लाको रघुगङ्गा, मङ्गला र मालिका गाउँपालिकामा समेत व्यावसायिकरूपमा गाईभैँसी पालन हुँदै आएको छ । रासस
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६


सम्बन्धित शीर्षकहरु
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१