• नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले बोडोल्यान्ड राज्यको माग गर्दै सशस्त्र युद्ध गरिरहेका बोडोसँगको नयाँ सम्झौताबाट उनीलाई मूलधारको शान्तिपूर्ण राजनीतिमा आउन मार्गप्रशस्त गर्ने बताउनुभयो ।

    प्रधानमन्त्री मोदीले बोडो जनताका मागलाई सम्बोधन गर्न भारत सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । बोडो समूहसँगको सम्झौतापछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “बोडो समूहसँगको सम्झौताले बोडो जनताको विशिष्ट सांस्कृतिक पहिचानको संरक्षण र प्रचार गर्न सहयोग पुग्नेछ । उनीहरुले विकासका व्यापक कार्यहरुमा बोडो जनतालाई समाहित गर्नेछ । बोडो जनताका आकाँक्षालाई परिपूर्ति गर्न भारत सरकारले जतिसक्दो बढी ध्यान दिनेछ ।”

    सोमबार भारत सरकारले हाल प्रतिबन्धित नेसनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्यान्डका प्रतिनिधि सम्मिलित भारतीय गृह मन्त्रालय नयाँ दिल्लीमा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता कार्यक्रममा केन्द्रीय गृहमन्त्री अमित शाह र आसाम राज्यका मुख्यमन्त्री सर्बनन्द सोनोवाल पनि उपस्थित हुनुुहुन्थ्यो ।

    बोडो समूहले विगत ५० वर्षदेखि अलग बोडोन्यान्ड राज्यको माग गरिरहेका छन् । यस हिंसात्मक आन्दोलनका क्रममा सयौं नागरिकको ज्यान गइसकेको छ । रासस/एएनआई