• दैलेख । मालिका अल्लो प्रशोधन उद्योगलाई बजारको मागलाई पूरा गर्न मुस्किल परेको छ । गतवर्षदेखि रु १३ लाखको लागतमा नौमुले गाउँपालिकामा सञ्चालनमा आएको सो उद्योगमा आधुनिक गुणस्तरीय प्रशोधन उपकरणको अभाव र धागो उत्पादनमा गति नहुँदा बजारको मागलाई धान्न नसकेको हो ।

    काठमाडौँ, भक्तपुर, पोखरालगायतका शहरदेखि अल्लोका कपडाको माग बढिरहेको सञ्चालक पदमबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँघरकै मागलाई पूरा गर्न अप्ठ्यारो छ, बाहिरको मागको कुरा नै नगर्नुहोस् ।”

    उत्पादित अल्लोको कपडालाई प्रतिमिटर रु ५०० पर्दछ । उद्योगमा दक्ष कर्मचारीको अभाव रहेको छ । अधिकांश महिलाले उद्योगमा काम गरिरहेका छन् । स्थानीय बीना रोक्कामगरले उद्योगमा काम पाउँदा घरखर्च चलाउन सजिलो भएको र श्रीमान्को कमाइमा भर पर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उद्योगबाट एकवर्षमा १०० अल्लोका कोट बिक्री भएको सञ्चालक खड्काले जानकारी दिनुभयो । रु सातदेखि आठ हजारसम्म कोटको मूल्य रहेको छ ।

    कर्णाली प्रदेश सरकारले कर्मचारी, जनप्रतिनिधिले अब आफ्नै प्रदेशमा उत्पादन भएका कपडाको प्रयोग गर्ने जनाएको छ । उक्त कार्यक्रमले उद्यमीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । रासस